लूका 20:9-19

लूका 20:9-19 NNRV

उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए। फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्‍नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्‍यसलाई पिटेर रित्तै पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटी बेइज्‍जत गरेर रित्तै पठाइदिए। तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए। “अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्‍नो प्‍यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्‌।’ “तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्‍पत्तिको हक हाम्रो हुनेछ।’ अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।” मानिसहरूले यो सुनेर भने, “यस्‍तो कहिले नहोस्‌।” तर उहाँले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो।’ त्‍यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्‍यो खस्‍छ त्‍यसले त्‍यसलाई धूलोपीठो पार्नेछ।” तब शास्‍त्रीहरू र मुख्‍य पूजाहारीहरूले त्‍यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।