लूका 15:1-10

लूका 15:1-10 NNRV

कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्‍नलाई उहाँको नजिक आइरहेका थिए। “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे। तब उहाँले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “तिमीहरूमध्‍ये कुन मानिस होला, जसको एक सय भेड़ामध्‍ये एउटा हराउँदा उनान्‍सयलाई वनमै छोड़ेर हराएको भेड़ा नपाउञ्‍जेल त्‍यसको खोजी गर्दैन? हराएको भेड़ा भेट्टाएपछि रमाउँदै त्‍यसलाई आफ्‍नो काँधमा राख्‍छ, र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’ म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ। “कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन? हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’ म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”