लूका 13:11-17
लूका 13:11-17 NNRV
त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई। येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।” तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी। सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन? अब्राहामकी यो छोरी जो अठार वर्षसम्म शैतानको बन्धनमा थिई, शबाथ-दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?” उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए।


