लूका 13:10-30

लूका 13:10-30 NNRV

एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। त्‍यहाँ एउटी स्‍त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्‍टात्‍मा लागेको थियो। त्‍यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्‍दिनथिई। येशूले त्‍यसलाई देख्‍नुभयो, र बोलाएर भन्‍नुभयो “ए नारी, तिमी आफ्‍नो दुर्बलताबाट मुक्त भयौ।” तब उहाँले त्‍यसमाथि आफ्‍ना हात राख्‍नुभयो, र त्‍यो तुरुन्‍तै सीधा भई र परमेश्‍वरको प्रशंसा गर्न लागी। सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्‌। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्‍ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्‍नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन? अब्राहामकी यो छोरी जो अठार वर्षसम्‍म शैतानको बन्‍धनमा थिई, शबाथ-दिनमा यस बन्‍धनबाट त्‍यो मुक्त हुनुपर्ने होइन र?” उहाँले यी कुरा भन्‍नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्‍दित भए। तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ? त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, र त्‍यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड़ बनाए।” फेरि उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गरूँ? त्‍यो खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्‍यो।” अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। कुनै एक जनाले उहाँलाई सोध्‍यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्‌?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँघुरो ढोकाबाट पस्‍ने प्रयत्‍न गर, किनकि, म तिमीहरूलाई भन्‍दछु, धेरै जना पस्‍न खोज्‍नेछन्, तर सक्‍नेछैनन्‌। घरका मालिकले उठेर ढोका बन्‍द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्‍दै ढोका ढकढक्‍याउनेछौ, ‘प्रभु, हाम्रा निम्‍ति ढोका खोलिदिनुहोस्‌’, र उनले जवाफ दिएर भन्‍नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्‍दिनँ।’ “तब तिमीहरू भन्‍न लाग्‍नेछौ, ‘हामीले तपाईंकै सामुन्‍नेमा खायौं र पियौं, अनि हाम्रा गल्‍लीहरूमा तपाईंले शिक्षा दिनुहुन्‍थ्‍यो।’ “उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’ “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्‍छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्‌नेछौ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आएर परमेश्‍वरका राज्‍यको भोजमा बस्‍नेछन्‌। हेर, पछिल्‍लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्‍ला।”