लूका 12:1-12

लूका 12:1-12 NNRV

यसै बीच जब हजारौँको भीड जम्‍मा भयो, यहाँसम्‍म कि एउटाले अर्कालाई कुल्‍चन लाग्‍यो, उहाँले पहिले आफ्‍ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्‍यो खमिर तिनीहरूको कपट आचरण हो। छोपिएको यस्‍तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्‍नेछैन। यसकारण जे तिमीहरूले अँध्‍यारोमा भनेका छौ, त्‍यो उज्‍यालोमा सुनिनेछ। गुप्‍त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। “मेरा मित्र हो, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्‍यसपछि अरू केही गर्न सक्‍दैनन्‌। तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ। के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न। तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ। “म तिमीहरूलाई भन्‍दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने स्‍वीकार गर्दछ, त्‍यसलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछ। तर जसले मलाई मानिसहरूका सामुन्‍ने अस्‍वीकार गर्दछ, परमेश्‍वरका दूतहरूका सामुन्‍ने त्‍यो पनि अस्‍वीकृत हुनेछ। हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्‍छ, त्‍यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्दछ, त्‍यसलाई क्षमा हुनेछैन। “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर, किनभने त्‍यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो पवित्र आत्‍माले तिमीहरूलाई सिकाउनुहुनेछ।”