लूका 11:29-54

लूका 11:29-54 NNRV

भीड़हरू थुप्रँदैजाँदा उहाँले भन्‍नुभयो, “यो पुस्‍ता दुष्‍ट पुस्‍ता हो। यसले चिन्‍ह खोज्‍दछ, तर योनाको चिन्‍हबाहेक यसलाई अरू कुनै चिन्‍ह दिइनेछैन। किनकि जुन रीतिले योना निनवेका मानिसहरूका निम्‍ति चिन्‍ह भएथे, त्‍यही रीतिले मानिसको पुत्र पनि यस पुस्‍ताको निम्‍ति चिन्‍ह हुनेछ। न्‍यायमा यस पुस्‍ताका मानिसहरूसँग दक्षिण देशकी रानीले उठेर यिनीहरूलाई दोषी ठहराउनेछिन्, किनकि तिनी पृथ्‍वीको पल्‍लो छेउबाट सोलोमनको बुद्धि सुन्‍नलाई आएकी थिइन्‌। तर हेर, यहाँ एक जना छ, जो सोलोमनभन्‍दा महान्‌ छ। निनवेका मानिसहरूले न्‍यायमा यस पुस्‍तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्‍दा महान्‌ छ। “कसैले बत्ती बालेर गुप्‍त स्‍थानमा अथवा भाँड़ामुनि राख्‍दैन, तर भित्र पस्‍नेहरू सबैले उज्‍यालो देखून्‌ भनेर सामदानमा राख्‍तछ। तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर उज्‍यालो हुन्‍छ, तर त्‍यो खराब छ भनेता तिम्रो शरीर पनि अँध्‍यारो हुन्‍छ। यसकारण होशियार होओ, तिमीमा भएको उज्‍यालो अँध्‍यारो नहोस्‌। यदि तिमीहरूको सम्‍पूर्ण शरीर उज्‍यालोले पूर्ण छ भने, तथा कुनै भाग अँध्‍यारो छैन भने, त्‍यो सम्‍पूर्ण उज्‍यालो हुन्‍छ, जसरी बत्तीको किरणले तिमीहरूलाई उज्‍यालो दिन्‍छ।” येशू बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्‍तो गरे। उहाँ घरभित्र पसेर खान बस्‍नुभयो। तर खान अघि उहाँले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे। तर प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त माझ्‍दछौ, तर तिमीहरूको भित्रचाहिँ लूट र दुष्‍टताले भरिएको हुन्‍छ। मूर्ख मानिस हो, जसले बाहिरको भाग बनायो, त्‍यसले नै भित्रको पनि बनाएको होइन र? तर भित्रका थोक दान स्‍वरूप देओ, र तिम्रो निम्‍ति सबै कुरा शुद्ध हुनेछ। “तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू पुदीना, आरूद र हरेक जडीबुटीको दशांश दिन्‍छौ, तर न्‍याय र परमेश्‍वरका प्रेमको उपेक्षा गर्दछौ। तर अरू कामको पनि उपेक्षा नगरी यी काम पनि तिमीहरूले गर्नुपर्नेथियो। “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा मुख्‍यमुख्‍य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू ती चिहानहरू जस्‍ता छौ, जो देखिँदैनन्, अनि चालै नपाई मानिसहरू तीमाथि हिँड्‌छन्‌।” व्‍यवस्‍थाका पण्‍डितहरूमध्‍ये एक जनाले उहाँलाई भने, “गुरुज्‍यू, यी कुरा गरेर तपाईंले त हाम्रो पनि बेइज्‍जत गर्नुहुन्‍छ।” उहाँले भन्‍नुभयो, “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई पनि धिक्‍कार! किनकि बोक्‍न नसक्‍ने भारी मानिसहरूमाथि तिमीहरू लाद्‌दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ। “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरूका पुर्खाहरूले मारेका अगमवक्ताहरूका चिहान तिमीहरू बनाउँछौ। यसरी तिमीहरू आफ्‍ना पुर्खाहरूका काममा साक्षी छौ, र तिनीहरूसँग सहमत हुन्‍छौ, किनकि तिनीहरूले उनीहरूको हत्‍या गरे, र तिमीहरूचाहिँ उनीहरूका चिहान बनाउँछौ। यसैले परमेश्‍वरको बुद्धिले पनि भन्‍दछ, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्‍ये कसैलाई तिनीहरूले मार्नेछन्‌ र कसैलाई सताउनेछन्‌। संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्‍तासँग लिइनेछ। हो, म तिमीहरूलाई भन्‍दछु, हाबिलको रगतदेखि लिएर, वेदी र मन्‍दिरको पवित्र-स्‍थानको माझमा मारिएका जकरियासम्‍मका रगतको लेखा यस पुस्‍तासँग लिइनेछ। “तिमी व्‍यवस्‍थाका पण्‍डितहरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्‍नेहरूलाई पनि रोक्‍यौ।” जब उहाँ त्‍यहाँबाट निस्‍कनुभयो, तब शास्‍त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्‍न गर्न थाले, र उहाँको मुखबाट निस्‍केका कुरामा उहाँलाई पक्रने दाउमा बसे।