लूका 10:30-37

लूका 10:30-37 NNRV

येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्‍यो डाँकूहरूको फेला पर्‍यो। तिनीहरूले त्‍यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए। संयोगले एक जना पूजाहारी त्‍यही बाटो भएर जाँदैथियो, र त्‍यो अधमरो मान्‍छेलाई देखेर त्‍यो अर्कोपट्टि तर्केर गयो। त्‍यसै गरी एक जना लेवी पनि त्‍यस ठाउँमा आएर त्‍यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्‍यो मान्‍छे भएको ठाउँमा आइपुग्‍यो, र त्‍यसलाई देखेर उसको मन दयाले भरियो। र त्‍यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्‍यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्‍नै गधामाथि चढ़ाएर त्‍यसलाई एउटा पौवामा ल्‍याई त्‍यसको हेरचाह गर्‍यो। भोलिपल्‍ट उसले चाँदीका दुई सिक्‍का पौवाको मालिकलाई दिएर भन्‍यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।” येशूले सोध्‍नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्‍ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?” तिनले भने, “त्‍यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिमी पनि त्‍यसै गर।”