लूका 10:1-23

लूका 10:1-23 NNRV

यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्‍दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌। जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु। न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। “जुन घरमा पस्‍छौ पहिले भन, ‘यस घरलाई शान्‍ति होस्‌!’ यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ। तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़। “जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ, त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’ तर जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, तब निस्‍केर त्‍यस सहरका सड़कहरूमा जाओ, र भन, ‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’ म तिमीहरूलाई भन्‍दछु, त्‍यस दिन त्‍यस सहरको भन्‍दा सदोमको हालत सहनीय हुनेछ। “धिक्‍कार तँलाई, खोराजीन! धिक्‍कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्‍यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्‌ग्रा लाएर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए। तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ। अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌। “जसले तिमीहरूका कुरा सुन्‍छ, त्‍यसले मेरो कुरा सुन्‍छ। जसले तिमीहरूलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई अस्‍वीकार गर्दछ, र जसले मलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई पठाउनुहुनेलाई अस्‍वीकार गर्दछ।” ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें। मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन। तापनि दुष्‍टात्‍माहरू तिमीहरूको वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन्‌ भनेर नै रमाओ।” त्‍यही बेला येशू पवित्र आत्‍मामा उल्‍लसित हुनुभयो, र भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्‍यो। “मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्‍दैन। पिता को हुनुहुन्‍छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्‍छा गर्दछ, त्‍यसले बाहेक अरू कसैले जान्‍दैन।” चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌।