“तब त्यसले मानिसहरूका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत पर्दाभित्र ल्याएर साँढ़ेको रगतजस्तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्ने छर्कोस्। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महा-पवित्रस्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्। जब हारून प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इस्राएलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफर्कुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्। “तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्। रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्। “जब हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित गरिसकेको छ, तब त्यसले जिउँदो बोकाचाहिँ ल्याओस्। अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्थानमा पठाइदेओस्। यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड़-स्थानमा छोड़िदेओस्। “त्यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्थानमा जाँदा त्यसले लाएका सूती लुगाहरू फुकालेर त्यहीँ छोड़ोस्। त्यसले आफ्नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्ना निज लुगाहरू लाएर आओस्। अनि आफ्नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्चित गरोस्। पापबलिको बोसो पनि त्यसले वेदीमा जलाओस्। “छाड़ा हुने बोकालाई छोड्न जानेले आफ्ना लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्। रगतद्वारा प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा ल्याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू। ती जलाउनेले आफ्नो लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्।
लेवीहरू 16 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 16:15-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू