लेवीहरू 16:14-30

लेवीहरू 16:14-30 NNRV

त्‍यसपछि त्‍यसले साँढ़ेको रगतबाट केही लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्‍ने आफ्‍नो औँलाले त्‍यो रगत सात पल्‍ट छर्कोस्‌। “तब त्‍यसले मानिसहरूका निम्‍ति पापबलिको बोका मारोस्, र त्‍यसको रगत पर्दाभित्र ल्‍याएर साँढ़ेको रगतजस्‍तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्‍ने छर्कोस्‌। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्‍मै पापको कारणले महा-पवित्रस्‍थानका निम्‍ति त्‍यसले प्रायश्‍चित गरोस्‌। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्‍ति पनि त्‍यसले त्‍यसै गरोस्‌। जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌। “तब त्‍यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्‍ने त्‍यसको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्‌। रगतबाट आफ्‍नो औँलाले सात पल्‍ट त्‍यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्‌। “जब हारूनले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरिसकेको छ, तब त्‍यसले जिउँदो बोकाचाहिँ ल्‍याओस्‌। अनि हारूनले आफ्‍ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्‌। त्‍यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्‍यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्‍थानमा पठाइदेओस्‌। यसरी त्‍यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्‍यस मानिसले त्‍यस बोकालाई उजाड़-स्‍थानमा छोड़िदेओस्‌। “त्‍यसपछि हारून भेट हुने पालमा गएर महा-पवित्रस्‍थानमा जाँदा त्‍यसले लाएका सूती लुगाहरू फुकालेर त्‍यहीँ छोड़ोस्‌। त्‍यसले आफ्‍नो शरीर कहीँ चोखो ठाउँमा पानीमा नुहाओस्, र आफ्‍ना निज लुगाहरू लाएर आओस्‌। अनि आफ्‍नै लागि र मानिसहरूका लागि होमबलि चढ़ाईकन प्रायश्‍चित गरोस्‌। पापबलिको बोसो पनि त्‍यसले वेदीमा जलाओस्‌। “छाड़ा हुने बोकालाई छोड्‌न जानेले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌। रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू। ती जलाउनेले आफ्‍नो लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌। “तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू, किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।