तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्। हेर्, ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। तैंले यरीहो र त्यसको राजालाई जे-जसो गरेको थिइस्, ऐ र त्यसको राजालाई पनि त्यसै गर्नेछस्, केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिमीहरूले आफ्नो निम्ति लिन सक्छौ। त्यस सहरको पछाड़ितिर ढुकेर बस्नू।”
यसकारण यहोशू सबै योद्धाहरूका साथमा ऐमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले तीस हजार सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राती नै पठाए। तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “हेर, तिमीहरू त्यस सहरको पछिल्तिर ढुकिरहनू। सहरबाट धेरै टाढ़ा नजानू, र चनाखो रहनू। मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्तै उनीहरूले खेद्दा भाग्नेछौं। उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्याउनेछौं, अनि उनीहरूले भन्नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्।’ यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौं, तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो सहर कब्जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पनुहुनेछ। जब सहर कब्जा गर्नेछौ, तब तिमीहरूले त्यसमा आगो लगाइदिनू। परमप्रभुको वचनअनुसार तिमीहरूले गर्नू। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु।”
यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्यो रात मानिसहरूका साथमा रहे।
यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए। तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो। यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्न राखे। तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए।
जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्के। तर सहरको पछिल्तिर आफ्नो विरुद्धमा ढुकेर बसेका छन् भन्ने उनलाई थाहा थिएन। तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे। यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्दैगए, र सहरदेखि धेरै टाढ़ा निक्लिआए। इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।