यहोशू 7:11-26

यहोशू 7:11-26 NNRV

इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्‌। नाशको निम्‍ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्‌। तिनीहरूले चोरी गरेका छन्‌ र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्‍नै मालतालसँग राखेका छन्‌। यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुको सामु अब खड़ा हुन सक्‍दैनन्‌। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्‍ना शत्रुहरूका सामुन्‍ने पीठ फर्काउनेछन्‌। तिमीहरूले आफ्‍ना बीचबाट सो नाशको निम्‍ति अलग गरिएका माललाई नष्‍ट नपारुञ्‍जेल म अब उप्रान्‍त तिमीहरूसँग रहनेछैन। “उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्‍ति आफैलाई शुद्ध राख्‍नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्‍यो अर्पित माल नफ्‍याँकुञ्‍जेल तिमीहरूका शत्रुहरूका सामुन्‍ने तिमीहरू खड़ा हुन सक्‍दैनौ। “‘यसकारण बिहान तिमीहरू आ-आफ्‍नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यो सन्‍तान-सन्‍तान गरी नजिक आओस्, र जुन सन्‍तानलाई परमप्रभु पक्रनुहुन्‍छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यसबाट एक-एक मानिस गरी नजिक आओस्‌। अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्‍यो र त्‍यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्‍यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्‍यसले इस्राएलमा घृणास्‍पद काम गरेको छ’।” यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्‍याए, र यहूदाको कुल पक्राउ पर्‍यो। अनि तिनले यहूदाका सन्‍तान-सन्‍तान गरेर नजिक ल्‍याए, र जेरहको सन्‍तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्‍तानका परिवार-परिवार गरी नजिक ल्‍याए, र जब्‍दीको परिवार पक्राउ पर्‍यो। अनि तिनले त्‍यसको घरका मानिस-मानिस गरी नजिक ल्‍याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्‍दी, त्‍यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्‍यो। तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस्‌ सो मलाई भन्‌। मबाट त्‍यो कुरो नलुका।” आकानले यहोशूलाई भन्‍यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो। जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्‌ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्‍डा देखें, तब मलाई लोभ लाग्‍यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्‍दा मुनि चाँदी छ।” तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्‍यस पालमा गए, र ती त्‍यसको पालमा गाड़िराखेका रहेछन्‌ र चाँदीचाहिँ सबैभन्‍दा मुनि रहेछ। अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्‍याए, र परमप्रभुको सामु राखिदिए। तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्‌ने, र सुनको डण्‍डा, अनि त्‍यसका छोराछोरीहरू, र त्‍यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्‍यसको पाल, र त्‍यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे। यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्‍म छँदैछ। तब परमप्रभु आफ्‍ना जल्‍दो क्रोधदेखि शान्‍त हुनुभयो। यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म आकोरको बेँसी रहेको छ।