यहोशू 6:20-25

यहोशू 6:20-25 NNRV

जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्‍यो पर्खाल फेदैसम्‍म घर्लम्‍म ढल्‍यो, अनि हरेक मानिस आफ्‍नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्‍यो कब्‍जा गरे। अनि तिनीहरूले त्‍यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्‍त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे। अनि यहोशूले त्‍यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्‍यस वेश्‍याको घरमा जाओ, र तिमीहरूले त्‍यससित शपथ खाएअनुसार त्‍यस स्‍त्री र त्‍यससँग भएका सबैलाई त्‍यहाँबाट निकाल।” तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्‍यसका बुबा, आमा, दाजुभाइ र त्‍यससँग भएका सबै जना, त्‍यसका सबै नातेदारलाई बाहिर ल्‍याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे। तब तिनीहरूले त्‍यो सहर र त्‍यहाँभित्र भएका यावत्‌ थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्‍डारमा राखे। तर राहाब वेश्‍या, त्‍यसका बुबाका परिवार र त्‍यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्‍यसले लुकाएकी थिई। अनि आजसम्‍म इस्राएलीहरूका बीचमा नै त्‍यो रहेकी छे।