त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु। सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू। सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्। अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्। अनि सहरको पर्खाल फेदसम्मै ढल्नेछ, र हरेक मानिस आफ्नो अगि सीधै बढ़ेर जाऊन्।” यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाड़ि हिँडून्।” अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरूचाहिँ परमप्रभुको सन्दूक अगिअगि हिँडून्।” यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्ना तुरही फुक्दै अगि बढ्न लागे। परमप्रभुका करारको सन्दूकचाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरूचाहिँ तुरही फुक्ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्दै हिँड़े। तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नू। मैले कराउनू भनेपछि मात्र कराउनू।” यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे। यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए। ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्दूकको अगिअगि तुरही बजाउँदै हिँड्दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्नेहरू परमप्रभुका सन्दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्दै हिँड़े। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्म तिनीहरूले यसै गरे। सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे। सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।
यहोशू 6 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 6:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू