योना 3:1-10

योना 3:1-10 NNRV

तब परमप्रभुको वचन दोस्रो पल्‍ट योनाकहाँ आयो: “त्‍यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्‍छु, सो त्‍यहाँ घोषणा गर्‌।” योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्‍यन्‍तै प्रख्‍यात सहर थियो। त्‍यो हेर्नलाई तीन दिन लाग्‍दथ्‍यो। पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ” निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्‌ग्रा लगाए। जब त्‍यो खबर निनवेका राजाकहाँ पुग्‍यो, तब उनी आफ्‍नो सिंहासनबाट उठे, उनले आफ्‍नो राजपोशाक फुकाले र भाङ्‌ग्रा लगाएर खरानीमा बसे। तब उनले निनवेमा यसो भन्‍ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्‌। तर मानिस र पशुले भाङ्‌ग्रा लगाऊन्, र परमेश्‍वरमा पुकारा गरून्‌। तिनीहरू आफ्‍ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्‍याग गरून्‌। कसले जान्‍दछ? परमेश्‍वरले मन नरम गर्नुहोला र दया गरेर आफ्‍नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्‍ट हुनेछैनौं।” तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।