योएल 2:1-11

योएल 2:1-11 NNRV

सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्‍वनि बजाओ। देशमा बस्‍नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्‍यो नजिकै छ, अन्‍धकार र उदासी दिन, बादल र बाक्‍लो अँध्‍यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्‍यस्‍तो अघि कहिल्‍यै भएको थिएन, न त फेरि पुस्‍ता-पुस्‍तासम्‍म कहिल्‍यै हुनेछ। तिनीहरूका अगिअगि आगोले भस्‍म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्‍वाला दन्‍कन्‍छ। तिनीहरूका सामुन्‍ने भूमि अदनको बगैँचाजस्‍तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्‍तो छ। तिनीहरूदेखि केही पनि उम्‍कनेछैन। तिनीहरूको अनुहार घोड़ाहरूको जस्‍तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्‌छन्‌। रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्‌छन्, झिँजामिजाहरूलाई भस्‍म गर्ने आगोका ज्‍वालाको आवाजझैँ, लड़ाइँको निम्‍ति पङ्‌क्ति बाँधेको बलियो सेनाझैँ। तिनीहरूलाई देख्‍दा जाति-जातिहरू शोकित हुन्‍छन्, हरेक अनुहार पहेँलो हुन्‍छ। तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारीकन प्रत्‍येक एउटै पङ्‌क्तिमा हिँड्‌छन्‌। तिनीहरू एउटाले अर्कालाई धक्‍का दिँदै हिँड्‌दैनन्, प्रत्‍येक आफ्‍ना-आफ्‍नै पङ्‌क्तिमा सीधा अगि बढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्‍छन्‌। तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्‌छन्‌। तिनीहरू घरका झ्‍यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्‌। पृथ्‍वी तिनीहरूका सामुन्‍ने काम्‍छ, आकाश थरथराउँछ। सूर्य र चन्‍द्र अँध्‍यारा हुन्‍छन्‌ र ताराहरूले आफ्‍नो चमक दिँदैनन्‌। परमप्रभु आफ्‍नो सेनाको अगि गर्जनुहुन्‍छ। उहाँको फौज अनगन्‍ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्‌। परमप्रभुको दिन महान्‌ र साह्रै डरलाग्‍दो छ। त्‍यो कसले सहन सक्‍छ र?