यूहन्‍ना 9:26-41

यूहन्‍ना 9:26-41 NNRV

तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?” त्‍यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्‍छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्‍छ कि कसो?” तिनीहरूले त्‍यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं। हामीलाई थाहा छ मोशासँग परमेश्‍वरले बोल्‍नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।” त्‍यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्‍यो, “कस्‍तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्‍नुहुन्‍न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो। हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ। संसार सुरु भएदेखि यसो जन्‍मैको अन्‍धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्‍यै सुनिएन। यदि यी मानिस परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।” तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?” त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?” येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।” तब त्‍यसले भन्‍यो, “प्रभु, म विश्‍वास गर्दछु”, र त्‍यसले उहाँलाई दण्‍डवत्‌ गर्‍यो। अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।” यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्‍धा हौं त?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अन्‍धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्‍छौं’ भन्‍दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्‍छ।”