म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने, किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ। तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ।”
यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?”
येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिनँ, एक जना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ, ‘कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन।’ के हाम्रा पुर्खा अब्राहामभन्दा तिमी महान् हौ? उनको मृत्यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्वर’ भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिनँ भन्छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्दछु, र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए।”
यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?”
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।” तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो।