यूहन्‍ना 8:25-32

यूहन्‍ना 8:25-32 NNRV

तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्‍दैछु। मैले तिमीहरूका विषयमा भन्‍नु र न्‍याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्‍य हुनुहुन्‍छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्‍दछु।” पिताको विषयमा उहाँले भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्‌। यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्‍नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्‍नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्‍दछु भनी जान्‍नेछौ। मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ। उहाँले मलाई एकलै छोड्‌नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्‍याउने काम गर्दछु।” उहाँले यी कुरा बोल्‍नुहुँदा धेरैले उहाँमाथि विश्‍वास गरे। येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”