येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्य ठहर्दैन।”
येशूले जवाफ दिनुभयो, “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु। तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ। म कसैको न्याय गर्दिनँ। मैले न्याय गरें भने पनि, मेरो न्याय सत्य ठहरिन्छ। किनभने न्याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्छ। तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। आफ्नो विषयमा म आफै गवाही दिन्छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।”
तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?”
येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।” यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म गइहाल्छु, र तिमीहरूले मलाई खोज्नेछौ, र तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जान्छु, तिमीहरू आउन सक्दैनौ।”
यहूदीहरूले भने, “यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो? किनभने यिनले ‘जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ’ भनी भन्छन्।”
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ। मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ’।”
तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?”
येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्दैछु। मैले तिमीहरूका विषयमा भन्नु र न्याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्दछु।”
पिताको विषयमा उहाँले भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्। यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु भनी जान्नेछौ। मलाई पठाउनुहुने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड्नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।” उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे।
येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ। तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। म जान्दछु, तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न खोज्दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। जे-जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु, त्यही म भन्दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्यही गर्दछौ।”