यूहन्‍ना 7:37-53

यूहन्‍ना 7:37-53 NNRV

अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो, “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌। जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।” तर यो कुरो उहाँले पवित्र आत्‍माको विषयमा भन्‍नुभएको थियो, जुन पवित्र आत्‍मा उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। किनकि पवित्र आत्‍मा अहिलेसम्‍म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्‍म भएको थिएन। यी कुरा सुन्‍ने कोही-कोही मानिसले भने, “यिनी त साँच्‍चै अगमवक्ता रहेछन्‌।” अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन्‌।” तर कसै-कसैले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन्‌ र? के धर्मशास्‍त्रले भनेको छैन, कि ख्रीष्‍ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्‌?” यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो। तिनीहरूमध्‍ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन। तब मन्‍दिरका पहरेदारहरू मुख्‍य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्‍यसलाई किन ल्‍याएनौ?” पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्‍तो त कुनै मानिसले कहिल्‍यै बोलेन!” फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो? के धर्म-गुरु अथवा फरिसीहरूमध्‍ये कसैले उसमाथि विश्‍वास गरेको छ? तर यो भीड, जसले व्‍यवस्‍था जान्‍दैन, त्‍यो श्रापित छ।” तिनीहरूमध्‍ये एक जना निकोदेमस, जो पहिले एक पल्‍ट येशूकहाँ आएका थिए, तिनले भने, “के हाम्रो व्‍यवस्‍थाले पहिले मानिसको सुनुवाइ नभई, र त्‍यसले के गरेको छ सो नजानिकन त्‍यसलाई दोषी ठहराउँछ र?” तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्‍त्र खोजेर हेर, र तिमीले देख्‍नेछौ, कि गालीलबाट अगमवक्ता निस्‍कँदैन।” [तब हरेक मानिस आ-आफ्‍ना घर गए।