यूहन्‍ना 6:35-44

यूहन्‍ना 6:35-44 NNRV

येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्‍वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ। आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ। किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।” यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्‍नुभयो, “स्‍वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्‍दैनौं र? अहिले यसले कसरी ‘म स्‍वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍दछ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ। मलाई पठाउनुहुने पिताले खिँच्‍नुभएन भने कोही मकहाँ आउन सक्‍दैन, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।

यूहन्‍ना 6:35-44 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति