यूहन्‍ना 6:16-23

यूहन्‍ना 6:16-23 NNRV

साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर गए। र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्‍यस बेला अँध्‍यारो भएको थियो, र येशू अझसम्‍म तिनीहरूकहाँ आउनुभएको थिएन। अनि ठूलो बतास चलेकोले, समुद्रको छाल उर्लन लाग्‍यो। पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ, नडराओ।” तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्‍तै आइपुग्‍यो। समुद्र पारि रहेको भीड़ले भोलिपल्‍ट त्‍यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए। तब तिबेरियासबाट अरू डुङ्गाहरू त्‍यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्‍यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।