यूहन्‍ना 5:30-47

यूहन्‍ना 5:30-47 NNRV

“म आफै केही गर्न सक्‍दिनँ। जस्‍तो म सुन्‍छु, त्‍यस्‍तै न्‍याय म गर्छु, र मेरो न्‍याय ठीक ठहर्छ, किनकि म आफ्‍नो इच्‍छा खोज्‍दिनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोज्‍दछु। “यदि मैले आफ्‍नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन। मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्‍छ, र म जान्‍दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्‍छ, त्‍यो गवाही सत्‍य ठहर्छ। “तिमीहरूले यूहन्‍नाकहाँ सोध्‍न पठायौ, अनि उनले सत्‍यको गवाही दिएका छन्‌। मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस्‌ भनेर म यी कुरा भन्‍दछु। यूहन्‍ना बल्‍दो र चम्‍किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्‍द मनाउन राजी भयौ। “तर मसँग जो गवाही छ, त्‍यो यूहन्‍नाको भन्‍दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन्‌ कि पिताले मलाई पठाउनुभएको हो। मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ। उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्‍वास गर्दैनौ। तिमीहरू धर्मशास्‍त्रमा खोजी गर्दछौ, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिमीहरू ठान्‍छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ। “म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, तर परमेश्‍वरको प्रेम तिमीहरूमा छैन भनी म जान्‍दछु। म आफ्‍ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्‍नै नाउँमा आयो भने त्‍यसलाई ग्रहण गर्नेछौ। तिमीहरू कसरी विश्‍वास गर्न सक्‍छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्‍मान खोज्‍दछौ, अनि त्‍यो सम्‍मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्‍वरबाट आउँदछ? “यो नसम्‍झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्‍ना आशा राखेका छौ। किनभने तिमीहरूले मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए। तर तिमीहरू उनले लेखेका कुराहरू विश्‍वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्‍वास गर्छौ?”