यूहन्‍ना 4:1-20

यूहन्‍ना 4:1-20 NNRV

यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने। (वास्‍तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।) जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानुपर्थ्‍यो। र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्‍नुभयो। यो नगरचाहिँ याकूबले आफ्‍ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्‍यो। त्‍यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्‍नुभएको हुनाले त्‍यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्‍यान्‍ह भएको थियो। एउटी सामरी स्‍त्री पानी भर्न त्‍यहाँ आई। येशूले त्‍यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्‍न गएका थिए। तब सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्‍बन्‍ध राख्‍दैनन्‌।) येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।” येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्‍यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”। येशूले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।” त्‍यस स्‍त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्‍यौ, किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्‍यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्‍नुहुन्‍छ, कि आराधना गर्ने स्‍थान यरूशलेम हो।”