यूहन्‍ना 20:24-31

यूहन्‍ना 20:24-31 NNRV

येशू आउनुहुँदा बाह्र जनामध्‍ये एक जना, दिदुमस भन्‍ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्‌। यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्‍यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्‍म म उहाँका हातमा कीलाहरूका डोब देख्‍दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्‍दिनँ, उहाँको कोखामा मेरो हात हाल्‍दिनँ, तबसम्‍म म विश्‍वास गर्नेछैनँ।” आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्‍द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति!” तब उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्‍वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्‍वर!” येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्‍वास गरेका हौ? धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्‍वास गर्छन्‌।” येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌। तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर, र विश्‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस्‌।