यूहन्‍ना 20:11-18

यूहन्‍ना 20:11-18 NNRV

तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्‌। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्, र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्‍यहाँ सेता वस्‍त्र लाएका दुई स्‍वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्‌। उनीहरूले तिनलाई भने, “नारी, किन रुन्‍छ्यौ?” तिनले उनीहरूलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्‍दिनँ।” यी कुरा भनेर तिनी पछिल्‍तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्‍छ भनी चिनिनन्‌। येशूले तिनलाई भन्‍नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्‍छ्यौ?” तिनले उहाँलाई माली भन्‍ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्‍नुभएको छ मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।” येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्‍बोनी,” अर्थात्‌ “हे गुरुज्‍यू!” येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्‍म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ गइरहेछु’।” मरियम मग्‍दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्‍नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्‌।