यूहन्‍ना 19:17-37

यूहन्‍ना 19:17-37 NNRV

उहाँ आफ्‍नो क्रूस आफै बोकेर खप्‍परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्‍छ। त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र उहाँसँग अरू दुई जनालाई टाँगे, एक जनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई। पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए। त्‍यसमा यही लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा।” अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्‍याटिन र ग्रीक भाषामा लेखिएको थियो। यहूदीहरूका मुख्‍य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्‍ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्‍यो’ भनी लेख्‍नुहोस्‌।” पिलातसले जवाफ दिए, “मैले जे लेखें, लेखें।” जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्‍त्र लिएर प्रत्‍येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे। उहाँको बाहिरी वस्‍त्र पनि लिए, तर त्‍यो वस्‍त्रचाहिँ सिउनी नभएको माथिदेखि तलसम्‍मै बुनेको सग्‍लो थियो। यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्‍यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।” धर्मशास्‍त्र पूरा होस्‌ भनेर नै यो भएको थियो: “तिनीहरूले मेरो वस्‍त्र आफू-आफूमा बाँड़े, र बाहिरी वस्‍त्रमा चाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्‍लोपासकी पत्‍नी मरियम र मरियम मग्‍दलिनी उभिरहेका थिए। जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!” तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे। यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्‍त्र पूरो होस्‌ भनी भन्‍नुभयो, “मलाई तिर्खा लाग्‍यो।” त्‍यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्‍पञ्‍ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्‍याइदिए। जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्‍नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्‍नो आत्‍मा त्‍यागिदिनुभयो। त्‍यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून्‌ भनी पिलातसलाई बिन्‍ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन्‌ भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्‍यसपछि अर्कोको। जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्‍यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्‌। तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो। तिमीहरू पनि विश्‍वास गर्न सक भनी यो देख्‍नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्‍दछु भनी ऊ जान्‍दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्‍ने धर्मशास्‍त्रको वचन पूरा होस्‌ भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्‍त्र भन्‍छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्‌।”