यूहन्‍ना 18:12-24

यूहन्‍ना 18:12-24 NNRV

त्‍यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्‍तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे। पहिले तिनीहरूले उहाँलाई हन्‍नासकहाँ लगे, जो त्‍यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए। यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्‍ति एक जना मानिस मर्नमा नै कल्‍याण छ’ भनी यहूदीहरूलाई सल्‍लाह दिएका थिए। सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे। तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्‍केर ढोकामा बस्‍ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्‍याए। तब ढोकामा बस्‍ने त्‍यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्‍ये एक जना हौ?” तिनले भने, “म होइनँ।” त्‍यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्‌ग्रो ताप्‍दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍न लागे। अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे। येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्‍लमखुल्‍ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्‍दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्‍छन्‌। मैले गुप्‍तमा केही भनेको छैनँ। मलाई किन सोध्‍नुहुन्‍छ? मैले तिनीहरूलाई के भनें सो सुन्‍नेहरूलाई नै सोध्‍नुहोस्‌। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।” येशूले यी कुरा भन्‍नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्‍ये एक जनाले यसो भन्‍दै येशूलाई थप्‍पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्‍छस्‌?” येशूले त्‍यसलाई भन्‍नुभयो, “मैले बेठीक भनेको भए त्‍यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?” तब हन्‍नासले उहाँलाई बाधिँएकै अवस्‍थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।