यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो। उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो। तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो। तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे। फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।” येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।” “तपाईंले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो। सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो। येशूले पत्रुसलाई भन्नुभयो, “तरवार म्यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?” त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे। पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए। यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्ति एक जना मानिस मर्नमा नै कल्याण छ’ भनी यहूदीहरूलाई सल्लाह दिएका थिए। सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे। तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए। तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक जना हौ?” तिनले भने, “म होइनँ।” त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्ग्रो ताप्दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे।
यूहन्ना 18 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 18:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू