यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो। किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्।
यूहन्ना 17 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 17:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू