यूहन्‍ना 16:23-33

यूहन्‍ना 16:23-33 NNRV

त्‍यो दिन तिमीहरूले मलाई केही सोध्‍नेछैनौ। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्‍छौ, उहाँले त्‍यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्‍म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्‍द पूर्ण होओस्‌। “यी कुरा मैले तिमीहरूलाई दृष्‍टान्‍तमा भनेको छु। तर समय आइरहेछ, जब म तिमीहरूसँग फेरि दृष्‍टान्‍तमा बोल्‍नेछैनँ, तर पिताको विषयमा तिमीहरूलाई स्‍पष्‍ट बताउनेछु। त्‍यो दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ। म तिमीहरूका निम्‍ति पितासँग बिन्‍ती गरिदिनेछु भनी तिमीहरूलाई भन्‍दिनँ, किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्‍छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ, र म परमेश्‍वरको तर्फबाट आएँ भनी विश्‍वास गरेका छौ। म पिताबाट आएँ, अनि संसारमा आएको छु, र फेरि म संसारलाई छोड़ेर पिताकहाँ जाँदैछु।” उहाँका चेलाहरूले भने, “अब तपाईं स्‍पष्‍ट बोल्‍दैहुनुहुन्‍छ, दृष्‍टान्‍तमा होइन। अब हामीहरूले बुझ्‍यौं, तपाईं सबै कुरा जान्‍नुहुन्‍छ, अनि तपाईंलाई कसैले सोध्‍ने आवश्‍यकता छैन। यसैले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्दछौ? हेर, समय आइरहेछ, वास्‍तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई आफ्‍नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्‌नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्‍छ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस्‌। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”