“तिमीहरूले ठोकर नखाओ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ। तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्दैनन्। तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।
“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ। र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ।
“मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ। जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। जे-जति पितासँग छन्, ती मेरा हुन्। यसैकारण मैले भनें, जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
“अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्नेछौ।”