यूहन्‍ना 14:1-10

यूहन्‍ना 14:1-10 NNRV

“तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर। मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौं, तब हामीले बाटो कसरी चिन्‍ने?” येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो उहाँलाई चिन्‍दछौ, र उहाँलाई देखेका छौ।” फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्‌। त्‍यति भए हामीलाई पुग्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “फिलिप, यतिको समयसम्‍म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्‍दैनौ? जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। तिमी कसरी भन्‍न सक्‍छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्‌?’ म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।