यूहन्‍ना 12:12-22

यूहन्‍ना 12:12-22 NNRV

भोलिपल्‍ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्‍छ भन्‍ने सुन्‍यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!” अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्‍यसमाथि चढ्‌नुभयो, जस्‍तो लेखिएको छ, “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।” यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्‌। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्‍ति तिनीहरूले गरेका हुन्‌ भन्‍ने तिनीहरूले सम्‍झे। उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। उहाँले यो चिन्‍ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्‌न गएको थियो। तब फरिसीहरूले एक-अर्कालाई भन्‍न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्‍तछौ, संसारै त्‍यसको पछि लागिसक्‍यो!” चाड़मा आराधना गर्न जानेहरूमध्‍ये कोही-कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्‍ती गरे, “हजूर, हामी येशूलाई भेट्‌न चाहन्‍छौ।” फिलिपले गएर अन्‍द्रियासलाई भने, र अन्‍द्रियास र फिलिप गएर येशूलाई भने।