निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो। तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए। तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो, “यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?” तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
येशूले भन्नुभयो, “यिनलाई केही नभन, मेरो दफन-दिनको लागि यिनलाई त्यो राखिछोड्न देऊ। किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”
यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए। यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे। किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के,
“होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
“सियोनकी छोरी, नडराऊ।
हेर, तिम्रा राजा गधाको बछेड़ामाथि
सवार भएर आउँदैहुनुहुन्छ।”
यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो। तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए। तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।” फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने।
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।