यूहन्‍ना 11:45-53

यूहन्‍ना 11:45-53 NNRV

मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे। तर तिनीहरूमध्‍ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए। तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्‍यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्‍हहरू गरिरहेछ। यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरूले आएर हाम्रो पवित्रस्‍थान र हाम्रो जाति दुवैलाई नष्‍ट पार्नेछन्‌।” तर तिनीहरूमध्‍ये एक जना, कैयाफा, जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्‍दैनौ! समस्‍त राष्‍ट्र नष्‍ट हुनुभन्‍दा बरु जनताको निम्‍ति एक जना मानिस मर्नुमा नै तिमीहरूको कल्‍याण छ भनी तिमीहरू बुझ्‍दैनौ।” यो तिनले आफ्‍नै तर्फबाट भनेका थिएनन्, तर त्‍यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्‍ट्रको निम्‍ति येशू मर्नुपर्छ भन्‍ने अगमवाणी बोलेका हुन्‌। राष्‍ट्रको निम्‍ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानलाई एकसाथ जम्‍मा गर्नलाई यो भनिएको थियो। यसैले त्‍यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।