यूहन्‍ना 10:27-42

यूहन्‍ना 10:27-42 NNRV

“मेरा भेड़ाहरूले मेरो सोर सुन्‍छन्, र तिनीहरूलाई म चिन्‍छु, र तिनीहरू मेरो पछि आउँछन्‌। तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्‍दा महान्‌ हुनुहुन्‍छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌। पिता र म एक हौं।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्‍ये कुन कामको निम्‍ति तिमीहरू मलाई ढुङ्गाले हान्‍न चाहन्‍छौ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्‍दैनौं, तर ईश्‍वर-निन्‍दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्‍यवस्‍थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’? यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्‍छन्‌ भने (धर्मशास्‍त्र भङ्ग हुन सक्‍दैन), पिताले पवित्र तुल्‍याएर संसारमा पठाउनुभएको व्‍यक्तिले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा कसरी ईश्‍वर-निन्‍दा हुन्‍छ? यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्‍वास नगर। तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्‍वास गर्दैनौ भने यी कामहरूमाथि विश्‍वास गर, र तिमीहरूले थाहा पाउन सक्‍नेछौ र बुझ्‍नेछौ, कि पिता ममा हुनुहुन्‍छ, र म पितामा छु।” तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्‍कनुभयो। अनि उहाँ फेरि यर्दन पारि त्‍यस ठाउँमा जानुभयो, जहाँ यूहन्‍नाले पहिले बप्‍तिस्‍मा दिने गर्थे, र उहाँ त्‍यहीँ बस्‍नुभयो। धेरै मानिसहरू उहाँकहाँ आउन लागे, र तिनीहरूले भने, “यूहन्‍नाले कुनै चिन्‍हहरू गरेनन्, तर यूहन्‍नाले यिनको विषयमा जे-जति भनेका थिए त्‍यो सत्‍य रहेछ।” अनि त्‍यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे।