यूहन्‍ना 10:22-39

यूहन्‍ना 10:22-39 NNRV

यरूशलेममा मन्‍दिर समर्पणको चाड थियो। यो हिउँदको समय थियो। येशू मन्‍दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो। यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्‍म तपाईं हामीलाई दोधारमा राख्‍नुहुन्‍छ? तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ भने हामीलाई स्‍पष्‍ट भनिदिनुहोस्‌।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्‍छन्‌। तर तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्‍येका होइनौ। “मेरा भेड़ाहरूले मेरो सोर सुन्‍छन्, र तिनीहरूलाई म चिन्‍छु, र तिनीहरू मेरो पछि आउँछन्‌। तिनीहरूलाई म अनन्‍त जीवन दिन्‍छु, र तिनीहरू कहिल्‍यै नष्‍ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन। मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्‍दा महान्‌ हुनुहुन्‍छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्‌। पिता र म एक हौं।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्‍ये कुन कामको निम्‍ति तिमीहरू मलाई ढुङ्गाले हान्‍न चाहन्‍छौ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्‍दैनौं, तर ईश्‍वर-निन्‍दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्‍यवस्‍थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’? यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्‍छन्‌ भने (धर्मशास्‍त्र भङ्ग हुन सक्‍दैन), पिताले पवित्र तुल्‍याएर संसारमा पठाउनुभएको व्‍यक्तिले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा कसरी ईश्‍वर-निन्‍दा हुन्‍छ? यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्‍वास नगर। तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्‍वास गर्दैनौ भने यी कामहरूमाथि विश्‍वास गर, र तिमीहरूले थाहा पाउन सक्‍नेछौ र बुझ्‍नेछौ, कि पिता ममा हुनुहुन्‍छ, र म पितामा छु।” तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्‍कनुभयो।