यूहन्‍ना 1:37-51

यूहन्‍ना 1:37-51 NNRV

उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू के खोज्‍दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्‍बी (जसको अर्थ हो, गुरुज्‍यू), तपाईं कहाँ बस्‍नुहुन्‍छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र तिमीहरूले देख्‍नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको स्‍थान देखे। तिनीहरू त्‍यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो। यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए। तिनले पहिले आफ्‍ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्‍ट) भेट्टाएका छौं।” तिनले सिमोनलाई येशूकहाँ ल्‍याए। येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।” भोलिपल्‍ट उहाँले गालीलमा जाने निश्‍चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अन्‍द्रियास र पत्रुसजस्‍तै फिलिप पनि बेथसेदा सहरका नै थिए। फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।” नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।” येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।” नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।” नथानेलले उहाँलाई भने, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ, तपाईं इस्राएलका राजा हुनुहुन्‍छ।” येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो “मैले तिमीलाई अञ्‍जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्‍वास गर्दछौ? तिमीले यीभन्‍दा अझ ठूला कुराहरू देख्‍नेछौ।” अनि उहाँले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ।”