यर्मिया 8:4-17

यर्मिया 8:4-17 NNRV

“तिनीहरूलाई भन्, ‘परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘जब मानिसहरू लोट्‌दछन्, के तिनीहरू फेरि उठ्‌दैनन्‌ र? जब कोही तर्किजान्‍छ, के त्‍यो फर्केर आउँदैन र? त्‍यसो भए यी मानिसहरू किन तर्केर गएका छन्‌ त? तिनीहरू छलमै टाँसिरहन्‍छन्, फर्किआउन तिनीहरू इन्‍कार गर्दछन्‌। मैले ध्‍यान दिएर सुनेको छु, तर तिनीहरू ठीक कुरा बोल्‍दैनन्‌। “मैले के गरेको छु र?” भनी कुनै मानिस पनि आफ्‍नो दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैन। घोड़ा लड़ाइँमा अगि कुदेर गएझैँ, हरेक आफ्‍नै बाटोतिर लाग्‍दछ। आकाशका सारस पनि आफ्‍नो ऋतु जान्‍दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्‍नो फर्कने समय जान्‍दछ। तर मेरो प्रजाले त आफ्‍ना परमप्रभुका मागहरूलाई जान्‍दैनन्‌। “‘तिमीहरू कसरी भन्‍न सक्‍छौ, “हामी बुद्धिमान्‌ छौं, किनकि परमप्रभुको व्‍यवस्‍था हामीसितै छ।” साँच्‍चै भनौं भने, शास्‍त्रीहरूको झूटो कलमले त्‍यसलाई झूट बनाइदिएको छ। बुद्धिमान्‌ मानिसहरू लाजमा पारिनेछन्, तिनीहरूले हताश खानेछन्, र पासोमा पर्नेछन्‌। तिनीहरूले परमप्रभुको वचनलाई इन्‍कार गरेका हुनाले तिनीहरूमा कस्‍तो बुद्धि छ? यसकारण म तिनीहरूका पत्‍नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्‍दा सानादेखि लिएर सबैभन्‍दा ठूलासम्‍म धनसम्‍पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्‌। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्‌। मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌। के तिनीहरू आफ्‍ना घिनलाग्‍दो चालचलनदेखि लज्‍जित छन्‌ र? अँहँ, तिनीहरू कत्ति पनि लज्‍जित छैनन्‌। लाजले रातो हुनु के हो, तिनीहरू जान्‍दैनन्‌। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्‍ड दिँदा तिनीहरू नष्‍ट हुनेछन्, परमप्रभु भन्‍नुहुन्‍छ। “‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्‍नुहुन्‍छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्‍जीरको बोटमा अञ्‍जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्‍नेछन्‌। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।” “हामी किन एकसाथ भेटेर यहाँ बसिरहौं? आओ, हामी किल्‍ला भएका सहरहरूभित्र जाऔं र त्‍यहीँ नै नष्‍ट होऔं। किनकि परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई नष्‍टै हुन भनी ठहराउनुभएको छ, र उहाँले हामीलाई विषालु पानी पिउन दिनुभएको छ, किनभने हामीले उहाँको विरुद्धमा पाप गरेका छौं। हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर केवल त्रास मात्र आइलाग्‍यो। शत्रुहरूका घोड़ाहरूका स्‍वाँ-स्‍वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्‍दा सारा देश नै काम्‍दछ। उनीहरूले देश र त्‍यसमा भएका सबै थोकलाई, सहर र त्‍यसमा बस्‍ने सबैलाई निलिहाल्‍न आएका छन्‌।” “हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्‍त्रतन्‍त्र लाग्‍दैन, र तिनीहरूले तिमीहरूलाई डस्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।