यर्मिया 38:14-28

यर्मिया 38:14-28 NNRV

तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्‍दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्‍याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्‍नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।” यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्‍न? मैले तपाईंलाई सल्‍लाह दिएँ भने पनि तपाईंले त्‍यो सुन्‍नुहुन्‍न।” तर सिदकियाह राजाले गुप्‍तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्‍दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्‍यान लिन खोज्‍ने मानिसहरूका हातमा तिमीलाई सुम्‍पनेछु।” तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्‍पिदिइस्‌ भने तेरो प्राण बाँच्‍नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्‍नेछस्‌। तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्‍पिदिइनस्‌ भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्‍कनेछैनस्‌’।” तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्‍दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्‍पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्‌।” यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्‍पिनेछैनन्‌। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस्‌ र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्‍नेछ। तर सुम्‍पिनलाई तपाईंले इन्‍कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो: यहूदाका राजाको महलमा छोड़िएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्‌: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्‌। तपाईंका मित्रहरूले तपाईंलाई त्‍यागेका छन्‌।’ तपाईंका सबै पत्‍नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्‍याइनेछन्‌। तपाईं आफै पनि उनीहरूका हातबाट उम्‍कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।” तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला। यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्‍यौ, र राजाले तिमीलाई के भन्‍नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन्‌ भने, तिमीले तिनीहरूलाई भन्‍नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस्‌ भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।” सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्‍न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन। यरूशलेम लिने दिनसम्‍मै यर्मिया गारदको चोकमा नै रहे।