मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘जो यस सहरमा बस्छ त्यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो निस्केर बेबिलोनीहरूकहाँ जान्छ त्यो बाँच्नेछ। त्यसले आफ्नो ज्यान जोगाएर उम्कनेछ, र त्यो बाँच्नेछ। अनि परमप्रभु यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्पिइनेछ, र त्यसले यो कब्जा गर्नेछ’।” तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्छ।” सिदकियाह राजाले जवाफ दिए, “त्यो तिमीहरूकै हातमा छ। राजाले त तिमीहरूका विरुद्धमा केही गर्न सक्दैनन्।” यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्यस हिलोमा भासिए। राजा त्यस बेला बेन्यामीनको ढोकामा बसिरहेका थिए। जब यर्मिया इनारमा हालिएका कुरा राजदरबारका नपुंसक कूशी एबेद-मेलेकले सुने, तब तिनले राजमहलबाट गएर राजालाई भने, “हे मेरा प्रभु, हे महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालिदिएर दुष्ट काम गरे। सहरमा रोटी सकिएपछि तिनी त त्यहाँ भोकै मर्नेछन्। तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्यस इनारबाट निकाल।” यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्डारमुनिको एउटा कोठामा गए, र त्यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए। तब कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा काखी र डोरीहरूका बीचमा यी थोत्रा लुगाहरू लगाऊ।” यर्मियाले त्यसै गरे। तब तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई इनारबाट बाहिर निकाले। त्यसपछि यर्मिया गारदको चोकमा बसे।
यर्मिया 38 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 38
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 38:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू