यर्मिया 37:6-16

यर्मिया 37:6-16 NNRV

तब यर्मिया अगमवक्ताकहाँ परमप्रभुको यो वचन आयो: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्‍नलाई पठायो, त्‍यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्‍नै देश मिश्रमा फर्केर जानेछ। तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्‌। उनीहरूले यसलाई लिनेछन्‌ र जलाइदिनेछन्‌।’ “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘बेबिलोनीहरूले निश्‍चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्‌। तिमीहरूका विरुद्धमा लड्‌ने बेबिलोनीहरूका सबै सेनालाई तिमीहरूले जित्‍यौ भने, र उनीहरूका घाइतेहरू मात्र पालमा बाँकी रहे भने पनि उनीहरू आएर यस सहरलाई जलाइदिनेथिए।” फारोका सेनाको कारण जब बेबिलोनीहरूको सेना यरूशलेमबाट हट्यो, तब मानिसहरूको माझमा आफ्‍नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्‍यामीनको इलाकातिर जान लागे। तर जब तिनी बेन्‍यामीनको ढोकामा आइपुगे तब हनन्‍याहका नाति, शेलेम्‍याहका छोरा गारदका कप्‍तान यिरियाहले यर्मियालाई पक्रेर यसो भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!” यर्मियाले भने, “यो कुरो सत्‍य होइन। म बेबिलोनीहरूकहाँ भागेर गएको होइनँ।” तर यिरियाहले तिनका कुरा सुन्‍न मानेनन्, र तिनले यर्मियालाई पक्रेर अधिकारीहरूकहाँ ल्‍याए। तिनीहरू यर्मियासित रिसाए, र तिनलाई पिटे, र सचिव जोनाथनको घरमा कैद गरेर राखे, किनभने तिनीहरूले त्‍यसलाई झ्‍यालखान बनाएका थिए। तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्‍म रहे।