परमप्रभु यसो भन्नुहुन्छ: “खुशीले याकूबको निम्ति गाओ। जातिमध्येका अग्रगण्यको निम्ति उच्च सोर निकाल। तिमीहरूको प्रशंसा सुनिओस्, र यसो भन, ‘हे परमप्रभु, आफ्नो प्रजा, इस्राएलका बाँचेकाहरूको उद्धार गर्नुहोस्।’ हेर, म तिनीहरूलाई उत्तर देशदेखि ल्याउनेछु, र पृथ्वीका कुना-कुनाबाट म तिनीहरूलाई जम्मा गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गड़ा, गर्भवती आमाहरू र सुत्केरी वेदनामा परेका स्त्रीहरू हुनेछन्। तिनीहरूको एउटा ठूलो भीड़ फर्केर आउनेछ। तिनीहरू रुँदै आउनेछन्। मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो। “हे जाति-जाति हो, परमप्रभुको वचन सुन। टाढ़ा-टाढ़ा समुद्र-किनारका देशहरूमा घोषणा गर: ‘इस्राएललाई तितरबितर पार्नेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र गोठालाले आफ्नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ’। किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। तिनीहरू आएर सियोनको उच्च ठाउँहरूमा आनन्दसाथ गाउनेछन्। परमप्रभुको प्रशस्त वरदानको कारण तिनीहरू रमाहट गर्नेछन्— अन्न, नयाँ दाखमद्य र तेल, भेड़ाबाख्राका पाठाहरू र गाई-गोरुका बाछाहरूको कारण तिनीहरूले रमाहट गर्नेछन्। तिनीहरू प्रशस्त पानीले भिजेको बगैँचाजस्तै हुनेछ। तिनीहरू फेरि कहिल्यै अफसोसी हुनेछैनन्। तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु। पूजाहारीहरूलाई म प्रशस्तताले सन्तुष्ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्त हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 31 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 31:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू