यर्मिया 31:31-37

यर्मिया 31:31-37 NNRV

परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्‍थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” परमप्रभु भन्‍नुहुन्‍छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु, तिनीहरूका मनमा मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्‍यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्‌। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍नो छिमेकीलाई वा आफ्‍ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्‍म तिनीहरू सबैले मलाई चिन्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्‍यै सम्‍झनेछैनँ।” परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसले दिन उज्‍यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्‍छ, र राती प्रकाश दिनलाई चन्‍द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्‍छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। “यी विधिहरू मेरो दृष्‍टिबाट लुप्‍त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ। परमप्रभु यसो भन्‍नुहुन्‍छ: “आकाशलाई नाप्‍न सकियो भने, र पृथ्‍वीको जगलाई खोजेर निकाल्‍न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्‍तानलाई फालिदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।