बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्। (राजा यहोयाकीन, राजमाता, महलका अधिकृतहरू, यहूदा र यरूशलेमका अगुवाहरू, कारीगर र निपुण कलाकारहरू यरूशलेमबाट निर्वासित भएपछि यो पत्र लेखिएको हो।) तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहलाई जिम्मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्तो थियो:
यरूशलेमबाट बेबिलोनमा आफूले निर्वासन गरी लगेका सबैलाई सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “त्यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्जनीहरू खाओ। विवाहबारी गरेर छोराछोरीहरू जन्माओ, छोराहरूका निम्ति बुहारीहरू ल्याओ, र छोरीहरूको विवाह गरिदेओ, र तिनीहरूले छोराछोरीहरू जन्माऊन्। त्यहाँ आफ्नो संख्या बढ़ाओ, घटेर नजाओ। मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने त्यसको उन्नति भएकोमा नै तिमीहरूको उन्नति हुनेछ।” हो, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेओ। तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्नुहुन्छ’।
परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।