यर्मिया 23:1-8

यर्मिया 23:1-8 NNRV

परमप्रभु घोषणा गर्नुहुन्‍छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!” यसैकारण आफ्‍नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पार्‍यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्‍ट कामको निम्‍ति म तिमीहरूलाई दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्‍मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्‍याउनेछु, जहाँ तिनीहरू फलवन्‍त हुनेछन्, र संख्‍यामा तिनीहरूको वृद्धि हुनेछ। म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्‍ये कुनै हराउनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ। परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्नेछन्‌। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।” परमप्रभु भन्‍नुहुन्‍छ, “यसैले यस्‍ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्‍यै यस्‍तो भन्‍नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्‍यसपछि तिनीहरू आफ्‍नै देशमा बस्‍नेछन्‌।”