परमप्रभु यसो भन्नुहुन्छ: “यहूदाका राजाको महलमा गएर त्यहाँ यो सन्देश दे: ‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन। परमप्रभु यसो भन्नुहुन्छ: जे उचित र ठीक छ, त्यो गर। लुटिएकोलाई अत्याचारीको हातबाट छुटाओ। विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि खराबी वा उपद्रव नगर, र यस ठाउँमा निर्दोषहरूको रगत नबगाओ। किनकि यदि तिमीहरूले साँच्चै यी आज्ञाहरू होशियारीसित पालन गर्यौ भने, यस महलका यी मूल ढोकाहरूबाट आएर दाऊदको सिंहासनमा बस्ने राजाहरू रथ र घोड़ाहरूमा सवार भएर तिनका अधिकारीहरू र मानिसहरूका साथ प्रवेश गर्नेछन्। तर यदि तिमीहरूले यी आज्ञाहरू पालन गरेनौ भने, परमप्रभु भन्नुहुन्छ, म आफ्नो नाउँको शपथ खाएर भन्दछु कि यो महल नै भग्नावशेष पारिनेछ’।” किनभने यहूदाका राजाको महलको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तँ मेरो निम्ति गिलाद र लेबनानको टाकुराजस्तै भए तापनि म तँलाई मरुभूमिजस्तै तुल्याउनेछु— निर्जन नगरझैँ। म तेरो विरुद्धमा नाश गर्नेहरूलाई पठाउनेछु, प्रत्येकलाई उसको आ-आफ्नो हतियारसहित। उनीहरूले तेरा असल देवदारुका सत्तरीहरू टुक्राटाक्री पारेर काट्नेछन्, र आगोमा फालिदिनेछन्। “धेरै जातिका मानिसहरू यस सहरबाट भएर जानेछन् र एउटाले अर्कालाई सोध्नेछन्, ‘किन परमप्रभुले यस महान् सहरमाथि यस्तो व्यवहार गर्नुभयो?’ अनि उनीहरूका निम्ति जवाफ यस्तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको करारलाई त्यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्’।” मरिगएका राजाको निम्ति नरोओ, अथवा तिनको लागि विलाप नगर। बरु कैदमा लगेको मानिसको लागि धुरुधुरु रोओ, किनभने त्यो कहिल्यै फर्कनेछैन, न त त्यसले स्वदेश देख्नेछ।
यर्मिया 22 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 22:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू