यर्मिया 20:1-18

यर्मिया 20:1-18 NNRV

यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्‍दिरका मुख्‍य अधिकृत इम्‍मेरका छोरा पूजाहारी पशहूरले सुने, तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्‌न लगाए र परमप्रभुको मन्‍दिरमा बेन्‍यामीनको माथिल्‍लो ढोकामा भएको ठिँगुरोमा हालिदिए। भोलिपल्‍ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्‍साबीब राख्‍नुभएको छ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा सबै मित्रहरूका निम्‍ति म एक त्रासको पात्र तुल्‍याउनेछु। तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्‍ने मारिनेछन्‌। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्‍पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ। म यस सहरका सबै धन-सम्‍पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्‍यसका सबै उत्‍पादन, त्‍यसका सबै बहुमूल्‍य वस्‍तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्‌का माल स्‍वरुप बेबिलोनमा लानेछन्‌। अनि हे पशहूर, तँ र तेरो घरमा बस्‍ने सबै कैदी भएर बेबिलोनमा निर्वासित हुनेछौ, तँ र तेरा सब मित्रहरू, जसलाई तैंले झूटा अगमवाणी भनेको थिइस्, सबै मर्नेछौ र त्‍यहीँ गाड़िनेछौ’।” हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्‍नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्‌। जब-जब म बोल्‍छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्‍दा र खिसी ल्‍याएको छ। तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्‍यै उहाँको नाउँमा बोल्‍नेछैनँ” भनी यदि म भन्‍छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्‍तो हुन्‍छ। त्‍यसलाई भित्र रोकिराख्‍दा म थकित हुन्‍छु, साँच्‍चै म त्‍यो थाम्‍नै सक्‍दिनँ। धेरैले कानेखुसी गरेका म सुन्‍दछु, “त्रास चारैतिर छ! त्‍यसको खबर गरौं! त्‍यसको विरुद्धमा खबर गरौं।” मेरा सबै मित्रहरू यसो भन्‍दै मेरो पतन पर्खिरहेछन्, “शायद त्‍यसले धोका खान्‍छ होला, र हामी त्‍यसमाथि विजयी भएर साटो फेर्न सक्‍छौं।” तर परमप्रभु एक शक्तिशाली योद्धाझैँ मसित हुनुहुन्‍छ, यसैले मलाई सताउनेहरू ठेस खाएर लोट्‌नेछन्‌। तिनीहरू ममाथि विजयी हुनेछैनन्‌। तिनीहरू सफल हुनेछैनन्, र तिनीहरू साह्रै लाजमा पर्नेछन्‌। तिनीहरूको अनादर कहिल्‍यै बिर्सिइनेछैन। हे सर्वशक्तिमान्‌ परमप्रभु, जसले धर्मात्‍माहरूको जाँच गर्नुहुन्‍छ, जसले हृदय र मन खोतल्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्‍पिदिएको छु। परमप्रभुलाई स्‍तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्‍टहरूका हातदेखि छुटाउनुहुन्‍छ। म जन्‍मेको दिन श्रापित होस्‌! मेरी आमाले मलाई जन्‍म दिएको दिन आशिषित नहोस्‌। त्‍यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई यो समाचार दियो, “तिम्रो एउटा बालक, अर्थात्‌ छोरो जन्‍म्‍यो,” र तिनलाई खुशी तुल्‍यायो। त्‍यो मानिस ती नगरहरूजस्‍तो होस्, जसलाई परमप्रभुले दयाविना सर्वनाश गर्नुभयो। त्‍यसले बिहान रुवाबासी, र मध्‍यदिनमा युद्धको ध्‍वनि सुन्‍नुपरोस्, किनभने त्‍यसले मलाई गर्भैमा मारेन, नत्रता मेरी आमा नै मेरो चिहान हुनेथिइन्, र तिनको गर्भ सधैँभरि विस्‍तृत भइरहनेथियो। दु:ख र अफसोस हेर्न र मेरो जीवनका दिन लाजमा बिताउनलाई म किन गर्भबाट निस्‍केछु?